म ‘राधाम्मा’को आदिम जंगलमा

म ‘राधाम्मा’को आदिम जंगलमा
शिकार खेल्दै गर्दा
मुस्लिमको वेदिबाट
उम्किएर भागेको खसिले
झुक्काएर मेरो शिरको लालिगुराँस
ख्वाप्पै खाएको थियो !
मेरो काँधको शीरफूल ( पातीको मुन्टा)
मरक्कै मर्काएको थियो!

म त मुर्छा परेर ढलेछु
अनि जबर्जस्त घिसार्दै मलाई
सँक्रमणको भीरबाट लडाएछ !
शदिऔँ अघिदेखि
म बेहोस लडिरहँदा
सप्पै मेरा घाम जुनहरु खाएछ
फाँटिला मेरा मूलबाटाहरु
छियाछिया बनाएछ
जाँगरिला मेरा भस्मेहरु
दरिलादरिला मेरा सुप्तुलुहरु
चोइटाचोइटा बनाएछ
बर्बरताका निलडामहरु
गुन्टाकागुन्टा थपेछ
ऐठन र अन्धकारका मेरा त्यति लामो यात्रामा
मुखमा रातो खुन बोकेर चुत्था खसिले
‘राधाम्मा’ छोप्न
आक्रमणका थुप्रो मरुभुमिहरु ओकलेछ
म त झनझन अचेत हुदै
ढलिबसेछु……….!

म पुरै पुरिन आँटेको बेला
‘देवा’ ‘फुपा’ले बखान्दै
कताकताबाट ओल्टाइ पल्टाइ गरेर
‘पि’को खुनमा चोखो ‘दी’ छानेर
मुखमा चुहाईदिनु भएछ
तब त म बौरिएछु!
म त जागेछु !
अब त म
दोलोखुम्बा दो सँगै आफ्नै भुमी खोज्न सक्ने भा’को छु
सिसको कम्पास नडगमगाउने अर्जुनदृष्टि पाएर
मेरा पुर्वे, साप्देउ शिकारी, जिमोछिमो सबै भाकेर
बदलाको वाण हान्न सक्ने भा’को छु
पक्कै होस धर्नासोको नशा चुटाईदिएर
कुँजो बनाउन सक्ने भा’को छु
हो यो बेला म मेरो नाम र ठेगाना खोज्न सक्ने भाको छु !
ए जाली खसी !
कि त मेरो पनि सम्मान गर
र बस ।
नत्र तिमी यहाँँबाट गैहाल ।

बस ! मेरो कुरा यत्ती हो –
तिमीलाई जत्रो मलाई पनि चाहिन्छ श्वास फेर्ने आकाश
र तिमीलाई जत्ती नै मलाई पनि चाहिन्छ टेक्ने धर्ती !!

नोट:-राधाम्मा – नाछिरिङ किराँती जातिको उदगमस्थल । हाल यो ठाउँ खोटाङ जिल्लाको सुदुर उत्तरी गाविस राखाबाङ्देलमा पर्छ ।
२, पि :- गोरु
३, दोलोकुम्बा दो – नाछिरिङ जातिले तोश (उधौली उभौलि) मनाउंदा गाउने गित ।
४, देवा :- नाछिरिङ जातिको कुलपित्री गर्ने धामी ।
५, फुपा :- बाजे ।
६, पुर्वे , साप्देउ सिकारी , जिमोछिमो:- नाछिरिङ जातिले पुज्ने र मान्ने देउदेउता ।
७, दि :- जाँड ।

<strong>–नाकारा, खोटाङ</strong>