नाछिरिङ साखेल्वा उधौली र उभौली पुजा

सृष्टिका रचयिताले मानवको रचना एकै प्रकारको गरे तापनि मानव भिन्नभिन्न वर्ग जातिमा जन्म लिएर यो संसारमा आउँदछन् । प्रत्येक जातिको वर्ग समूहअनुसार आफ्नोआफ्नो धर्मकर्म, रीति तथा संस्कार पूर्वजदेखि गरी आएको चलनलाई अपनाइन्छ । कोही मन्दिरमा, कोही चर्चमा ,कोही मस्जिदमा त कोही गुरुद्धारमा पूजा गर्छन् । यसै सन्र्दभमा किराँत नाछिरिङ जाति आदि कालदेखि जङ्गलजङ्गल घुमी लिसो पासो , शिकार गरी जीविका गरी जीवनयापन गर्ने पूर्वजहरूले जङ्गलबाटै, प्रकृतिबाटै हरेक संसाधन जुटाउन सक्षम हुँदा प्रकृतिलाई नै भगवान मानी पुज्न थाले र आजसम्म यही परम्परा चलिआएको छ ।

किम्वदन्तीअनुसार परापूर्वकालमा पुर्खाहरूले जीवनयापन गर्न शिकार खेल्न जङ्गल घुम्ने गर्दथे । खेती लगाउने समय थाहा नभएको हुदाँ नागी धामीले आफ्नो मुन्दुमबाट बखान गर्न थालेछ । बखान गर्दा गर्दा धामीले स्वर्गबाट नागी ढुङ्गा पिपिचो भन्ने ठाउँमा झारेछ । नागी ढुङ्गा राखी नागी धामीले कुखुराको भाले मारेर सबै उनका नाममा पोलिदिए (आज पनि त्यो ठाउँमा कुखुरा पोलेको गनाउँछ) । नागी धामीले यसरी नागीलाई सोध्दै जाँदा जति पनि पुर्खाहरू मर्दै गएका थिए उनीहरूको टाउको काट्दै तदुवा ओडारमा राख्ने चलन पछिसम्म थिएछ र बाजे बजुको टाउको निकालेर बाजेलाई गोरुको भोग दिनु बजुलाई गाईको भोग दिनु तिम्रा शाखासन्तानलाई राम्रो हुन्छ भन्ने सल्लाह दिँदा त्यसै गरी भोग दिएछ र पुजा गर्ने ठाउँ पिकृप्चो ‘पि’को अर्थ गाई र ‘कृप्चो’ भन्नाले काट्नु हुनाले पिकृप्चो रहन गएछ । पछि अप्रभंश भई अचेल पिपिचो नामले जानिन्छ ।

यसरी पुर्खाहरूलाई भोग दिएर राम्रो पुज्नु भन्ने नागीबाट सल्लाह हुँदा नागी ढुङ्गा, युङखुलुङ र धिउलु नागीले झारेको र ङयार्म काटने ढुङ्गा सिप्तिलीम साथमा राखी ङेर्म काटिन्छ यो घर भित्र हुन्छ । बाहिर बाजेबोजु स्थापना दुईटा ढुङ्गा राखिन्छ र भूमे भनी पुजिन्छ । यसै समूहलाई भूमेचार युङखुलु धिउलु साखेल्वा भनिन्छ र आज पनि पूजा गर्दा नागी र युङखुलुङलाई एउटा भाले सारिन्छ, भोग दिइँदैन तर नाममा सारी मारी पुरै जलाई दिने चलन छ । बाजे बोजु (भूमे) लाई भाले पोथी कुखुराले सालमा उधौली र उभौलीमा दुईचोटि पुजा गर्ने चलन छ । किनकि नागीले पूर्वजमा गोरु र गाईले भोग दिएका थिए । आज पनि सालमा उधौली उभौलीमा दुई पटक कुखुराले र सालमा एक पटक सुँगुरले पुजा गर्ने चलन पनि चलिआएको छ । (कसैको भाकल भए मंसिरे पुर्नेबाट बैशाखसम्म गर्न सक्छ) र किराँत नाछिरिङ जातिको पूजा गर्ने स्थल पिपिचो भए पनि आजभोलि आफ्नै गाउँको भूमिचार भित्र नै गर्ने चलन छ । यसै थानको छायाँमुनि सम्पूर्ण किराँत नाछिरिङ जाति रहेको एवम् उनैको मार्गमा हिँडी न्यायअन्यायको समीकरण गरी धर्मको बाटो अपनाइरहेको छ ।

जब धामीले पुर्खाहरूलाई पुज्न भनी बखान गर्दै जाँदा, सिली गर्दै जाँदा काराङ कुरुङ सिली गर्न लागेछ । यति बेला सतबिउ, पलविउ, बिउ बिजन राख्ने समय भएछ र जब ढुकुरको सिली गर्न पुग्दा बिउबिजन छर्ने भन्ने नागीको सल्लाह हुँदा बिजन छरेछ र धेरै उब्जनी भएछ । आज पनि यसै विधि अपनाई उधौली उभौली पूजा गर्दा नागीको सिली गर्ने चलन यथावतै छ ।

पूजा गर्ने सामग्री (युङ्खुलु धिउलु साखेलवामा)
(क) ढोल, झेम्टा
(ख) नाङ्लोमा थाम्वाकु (एक माना चामलको भातमाथि गोरुको मासु (आजभोलि लगाउँदैनन्)
(ग) केराको पात
(घ) मुरुम्वी कट्टी
(ङ) काठको डाँडु – दुईवटा (छाम खरवा)
(च) नागी भाले
(छ) धूप, निलो अविर, दियो जलाउने धागो, तेल, भेटी
(ज) चोखो जाँड
तरिका
(क) कुवी धामीको घरमा मसुपा, मसुमेई (सिलि गर्ने समूह) आफ्नो भेषभूषा लगाएर तयारी हुने छन् ।
(ख) कुवी धामीले आफ्नो अघेनाको वरिपरि ढोल झेम्टा नाङ्लोको थम्वाकु छामखरवा (काठको डाडु ) मुरुमी
(ग) कुवी धामीले अघेनाबाट बल माग्छ
(घ) अदुवा र धामीकै चोखो जाँडले अघेना खन्याउँछ र त्यै चोखो जाँड अदुवाले ढोल झेम्टालाई चढाउँछ र उसको छामखरवा मुरुमी चोखो जाँडले र विद्याले धार लगाउँछ र दापमा लगाएर दाहिनेपट्टि भिर्छ । फक्सुम पनि चिन्डो लगाएर कुविले भिर्छ ।
(ङ) मसुपा मसुमेईले ढोल झेम्टा चलाउन सुरु गर्छन् अनि घरमा तीन चुला अघेनाको वरिपरि दोलो खम्पी दोके दोलो खम्पी दो भन्दै घुम्छ र बल माग्छ र नाँच्दै गाउँदै युङखुलु धिउलु साकेल्वामा जान्छ ।
(च) युङखुलु धिउलुमा दाहिनेपट्टि एक फन्का घुमी भित्र पस्छ र भित्रपट्टि पनि दाहिनेपट्टि एक पटक नाच्दै सिली गाउँदै घुम्छ । यस पछि विसाई पूजाको तयारी गर्दछ ।

(क) पूजा गर्ने रीति ः गर्ने तरिका
१. धिउलु थानको बाँयापट्टि १ ढोल, २ झेम्टा र दाहिनेपट्टि – नाङलोमा , थम्वाकू , छामखरवा (काठको डाडु) , पशुपति टीका, धुप र चिन्डोमा चोखो जाँड ।
२. धुप बालेर फूल फलेदो अक्षेता चढाएर धुप धवाँर गरेर पूजा गरिन्छ ………….
३. यति गरिसकेर कुवी धामी र अरू मसुपा मसुमेई ढोल झेम्टा चलाएर सिली गाउँदै एकतुल गरिन्छ ।
(ख) सिली गाउने विधि
१. दोलो खम्पी दो के दोलो खम्पी दो दो
२. वाछेलइनी वारेलइनी दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
३. काङाबुने मुदुपवा दुपवाके दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
४. रिशि मान्दी ङाबु मान्दी ताई काके दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
५. मदुपवा दुपवा के दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
६. खादी तैतो खादी हरलो ताईका के दोला खम्पी दोके दोलो खम्पी दो दो ।
७. खादी तईतो पारुहप तईतो ताईका के दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
८. पुसाम धुप्तो ताईका के दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
९. नाछोयोपा नाछोयोमा ताईका के नाछिरिमी सायाछाके दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
१०. धिउलु होपा साखेल्वापी ताइका के दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
११. कुवी छाङा सुबी शम्लो तावा वाछे मेदानीके दोलो खम्पी दोके दालो खम्पी दो दो ।
१२. दिनवालो दिछवालो तावा वाछे मेदानीके दोलि खम्पी दोके दालो खम्पी दो दो ।
१३. सेलेछाङा मकुसाम्लो तावा वाछे मेदानीके दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
१४. रुमी होपा पामी होपा तावा वाछे मेदानीके दोलो खम्पी दोके दोली खम्पी दो दो ।
१५. ताथा छाङा तावा वाछे मेदानीके दोलो खम्पी दोके दोला खम्पी दो दो ।
१६. धिउलु होपा युङखुलुङा छाम्छिनिवो दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
१७. लहमाङा नाम्पारुहपङा छाम्छिनिवो दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
१८. लानीमाङा निवाम्माङा छाम्छिनिवो दोलो खम्पी दोके दोलो खम्पी दो दो ।
(ग) यति सिली गरी सकेपछि भित्र नागी पूजा सुरु गरिन्छ ।
सामान भाले र अछेता ः नागी पूजा कुबी धामीले पुकार गरेर तीन फेरा पूmल अछेता सबैले चढाउँछन् । कुखुराको भालेलाई ठटाएर मारेर चिङ्गा हेरेर पोलेर खरानी बनाइदिन्छन् । बाहिर भुमेलाई जोडी भाले पोथीले पूजा गर्छ । भुमे थान नहुनेले गर्दैनन् । सालमा सुँगुरले एकचोटि भूमी पुर्खाको नाममा पूजा गरिन्छ । यसको ९ थान छोरसा निकालेर पोलेर चढाइन्छ । चोखो जाँड र छोर्सा चडाएपछि चोखो जाँड फुक्छ ।
(घ) छोकलर अथवा बोम्बोलर (उभौली र उधौली ) तोस भन्निछ ।
१. ङेरवा सिली ः कराङ कुरुङ उँभो लाग्दा खेती सतबिउ पलबिउ छर्ने बेला भएछ भनेर पुर्खाहरूले खेती लाउन सुरु गरेछन् ।
२. तुक्तु कुरमा सिली गरिन्छ ः पूर्वकालमा हाम्रा पुर्खाहरूले (ताँबे) ढुकुर मारेर उसको गाँड भित्रबाट विभिन्न खाले सतबिउ पलबिउ बाली फलेछ । तेसैको सम्झनामा सिली गरिन्छ ।
३. जङ्गलमा ढाल फाड गर्ने सिली गरिन्छ ।
४. खनेर सतबिउ पलविउ छरिन्छ ।
५. बिउ उखेल्ने काम गरिन्छ ।
६. धानकोदो रोपिन्छ ।
७. गोडमेल हुन्छ । यति सिली गरेपछि उभौली (छोक्लर) हो भने यहाँ नै समापन गरिन्छ ।
८. उँधौली सिली (बोमबोलर) हो भने पुरै सिली , धान काट्ने, कोदो टिप्ने इत्यादि कमाइहरू उठाउने काम गरिन्छ । कुवी धामीले उँभौली र उँधौलीमा दुवै पटक छाम्खर वा हातमा लिएर नाँच्दै सह माग्छ । ङेर्मा रिक्चाएर निकालिन्छ । ङेर्म काटिन्छ । कुल पितृ पुर्खा कुवी र मसुपा मसुमेइको जोखना भनिन्छ ।
(ङ) सिर उठाउने (साइचोम )
पूजामा भेला हुने सम्पूर्ण सहभागीहरूको सिर उठाउने र नाच्ने सिली गरिन्छ ।
१) रिचीबुङा चारी खम्ङा साईपुक्वो दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
२) मक्साइङा किप्साइङा साईपुक्वो दोलो रिन्ची दोके दोलो रिन्ची दो दो
३) चादुमी साइङा बुलुमी साइङा साइपुक्वो दोलो रिन्ची दोेके दालो रिन्ची दो दो ।
४) कुबी छाङा सेले छाङा साईपुक्वो दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
५) ताया छाङा साइपुक्वो दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
६) रुमी होपा पामी होपा साइ पुक्वो दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
७) नामपारुहपङा लानीमाङा छाम्छीनीवो दोला रिन्ची दोके दोलो रिन्ची दो दो ।
८) नावा हेइमा नाचुर हेइमा दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
९) सक्वा हेइमा मरुवा हेइमा दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
१०) मुलुखापी लबेरबुङा रिचीबुङा छुइनेके दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
११) मरबुङा ससीबुङा छुइने के दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
१२) चारीबुङ सिबुनाम्ङा छुइने के दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
१३) खल चीङा तावा वाछे मेदानीके दोलो रिन्ची दोके दोलो रिन्ची दो दो ।
धामी पनि मुरुमी खरवासँग बल मागिरहेको हुन्छ ।

(च) कुबी धामीले गर्ने विधि खाली हात घुँडा टेकेर – कुबीले ए भन्छ वेरलीले ह भन्छ । यो शब्द तीन पटक पुर्काछन् ए–ह–ए–ह–ए–ह । यो पुकार गर्नुको अर्थ आज गरेको काम यहाँ नै समाप्त भयो है भन्ने हो । यति पुकार गरिसकेपछि दोष समाप्त गरी धिउलु युङखुलुबाट बिदा माग्दै धामीको घर जाने चलन छ । यसप्रकारले उभौली र उधौलीको तोष पूजाको कार्यक्रम समापन गरिन्छ ।